कोरोनरी मुटु रोग

परिचय

2018 मा, हंगकंगमा क्यान्सर र निमोनिया पछि मुटु रोग तेस्रो घातक रोग हो । विभिन्न प्रकारका मुटु रोगहरु मध्य, कोरोनरी मुटु रोग सबैभन्दा सामान्य हो । हालका वर्षहरुमा, साना उमेरका व्यक्तिहरुमा कोरोनरी मुटु रोगको संख्या बढ्दो छ ।

कारणहरु

  • जब कुनै व्यक्ति बढ्दै जान्छ, एथेरोस्क्लेरोसिस (atherosclerosis) (धमनिहरुको भित्री भित्तामा चिल्लो पदार्थ जम्मा भई नसा साँघुरिने प्रक्रिया) प्रक्रियाको कारण जम्मा भएको कोलेस्टेरोल–युक्त तत्व (लेउ) ले कोरोनरी धमनिहरु (coronary arteries) साँघुरिदै जान्छ वा अवरुद्ध समेत हुन्छ ।
  • जब कोरोनरी धमनिहरु साँघुरिन्छ वा अवरुद्ध हुन्छ, मुटुमा रगतको प्रशारण कम हुन्छ र मुटुको मांशपेशीहरुमा अक्सिजनको आपूर्ति घट्ने छ वा विशेष गरी शारीरिक गतिविधिहरुको समयमा रोकिन्छ । रोगीहरुले छाती दुख्ने र गम्भीर अवस्थामा हृदयघातको महसुस गर्नेछन् ।
  • मुटु रोगको जोखिम कारकहरुमा निम्न पर्दछन्ः
    • उच्च रक्तचाप
    • उच्च रक्त कोलेस्टेरोल
    • मधुमेह मेलिटस
    • अस्वस्थ खानपानको तरिका
    • धुम्रपान
    • मोटोपन
    • व्यायामको कमी
    • दीर्घकालिन तनाव
    • कोरोनरी मुटु रोग भएको पारिवारिक इतिहास

कोरोनरी मुटु रोगको लक्षणहरु

  • एथेरोस्क्लेरोसिस (atherosclerosis) विकास हुनको लागि लामो समय लाग्छ । हृदयघातको पहिलो घटना अघि कुनै पनि लक्षणहरु नदेखिन सक्छ । रोगीहरुमा निम्न लक्षणहरु देखिन सक्छन्ः
    • छाती दुख्नेः जोसका साथ व्यायाम गरेपछि वा भावनात्मक तनावका कारण रोगीहरुलाई छाती दुख्न सक्छ । उनीहरुले चट्टानले थिचे जस्तै छातीमा कस्सिएको महसुस गर्न सक्छन् । दुखाइ पाखुरा, काँध, घाँटी र तल्लो बङ्गारो सम्म फैलिन सक्छ र रोगीले केही मिनेटसम्म आराम गरेपछि कम हुन सक्छ ।
    • श्वास फेर्न समस्याः रोगीहरुलाई श्वास फेर्न समस्या र शारीरिक काममा थकान हुन सक्छ ।
  • एक्युट मायोकार्डियल इन्फ्रयाक्सन (Acute myocardial infarction) (हृदयघात) – अचानक हुने छातीको दुखाइ जुन घाँटी, पाखुरा र तल्लो बङ्गारो सम्म फैलिन सक्छ । रोगीहरुलाई धेरै पसीना आउने, श्वास फेर्न समस्या हुने, वाकवाकी लाग्ने र बान्ता हुने वा मृत्यु समेत हुन सक्दछ । यस्तो लक्षणहरु भएका जो कोही पनि तुरुन्तै अस्पतालको दुर्घटना तथा आपतकालीन विभागमा चिकित्सा उपचार लिन जानु पर्दछ ।

कोरोनरी मुटु रोगको रोकथाम

हामीले जोखिम कारकहरुलाई कम गरेर, कोरोनरी मुटु रोग हुने सम्भावना कम गर्न सक्ने कुरा अध्ययनहरुले देखाएको छ ।

  • धुम्रपान वा मदिरापान नगर्नुहोस्
  • कम चिल्लो, कम चिनी, कम नुन र उच्च फाइबर भएको सन्तुलित आहारहरु खाने र स्वस्थ खाने बानी अपनाउनुहोस्
  • स्वस्थ शरीरको वजन कायम राख्नुहोस् (BMI <23 kg/m2, पुरुषको लागि कम्मरको परिधि 90 cm भन्दा कम, महिलाको लागि कम्मरको परिधि 80cm भन्दा कम)
  • कम्तिमा पनि 10 मिनेट अवधिको, मध्यम–तीव्र खालको एरोबिक शारीरिक गतिविधि गर्नुहोस्, जस्तै जगिङ गर्ने, हिँड्ने, ताई ची (Tai Chi) को अभ्यास गर्ने, पौडि खेल्ने ।, कुल मिलाएर हप्ताको कम्तिमा पनि 150 मिनेटको लक्ष्य पूरा गर्ने वा कुल मिलाएर 75 मिनेटको जोसिलो तीव्र एरोबिक शारीरिक गतिविधिहरु गर्ने (यदि तपाईंलाई मुटु रोगको जोखिम कारकहरु भएमा, कृपया व्यायाम गर्नु अघि चिकित्सा सल्लाह लिनुहोस्)
  • तनावलाई राम्रोसँग व्यवस्थापन गर्नुहोस्
  • दीर्घकालीन रोगहरुमा राम्रो नियन्त्रण कायम राख्नुहोस् जस्तै उच्च रक्तचाप र मधुमेह मेलिटसको लागि, नियमित रुपमा फलो–अपमा उपस्थित भएर र स्वास्थ्यसेवा विशेषज्ञहरुको निर्देशनमा औषधिहरु लिनुहोस् ।